काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था ई सेवा प्रा लि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे सोमबार एक सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरू ले ई सेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जा को भुक्तानी सजिलै गर्न सक्नेछन् । सो सम्झौतामा ई सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सी ए शोभा श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ई सेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको
डिजिटल नेपाल को अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।
कम्पनीका अनुसार हाल ई सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । देशभर रहेका २ लाख १५ हजार भन्दा बढी एजेन्ट (ई सेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसङ्ख्याले सेवा लिइरहेका छन् ।
ई सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, लोक सेवा आयोगको आवेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।