काठमाडौं– काठमाडौंमा प्रिमियम फाइभस्टार होटल निर्माण गरिरहेका गैरआवासीय नेपाली शेष घले र समिट होटलका संस्थापक अमृतरत्न शाक्यको लगानीमा भक्तपुरमा हाइ इण्ड रिसोर्ट बन्ने भएको छ।घलेको एमआइटी र शाक्यको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइइजी)को संयुक्त लगानीमा स्वनिग: रिसोर्ट बन्ने भएको हो। रिसोर्ट भक्तपुरको घ्याम्पेडाँडामा १०० रोपनी जग्गामा ६ अर्ब रुपैयाँ लगानीमा तयार हुनेछ।
नेपाली तथा विदेशी हाइ इण्ड पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रिय चेनको व्यवस्थापन हुने गरी रिसोर्ट बनाउन लागेको आइइजीका संस्थापक शाक्यले बताए।‘हामीले २० वर्ष अगाडि नै अहिलेको पाइलट बाबा आश्रम छेउमा १०० रोपनी जग्गा खरिद गरेका थियौं। यो स्थानमा हाइ इण्ड पर्यटक ल्याएर सेवा दिन सकिने सम्भावना देखेका थियौं,’ शाक्यले बिजमाण्डूसँग भने, ‘हामी उत्कृष्ट प्रोपर्टी निर्माण गर्दैछौं।’
रिसोर्टमा एमआइटी र आइइजीको ५०/५० प्रतिशत सेयर हुनेछ। रिसोर्ट निर्माणको सुरुवात नयाँ वर्षबाट हुनेछ। रिसोर्ट मुलुकको संस्कृति, परम्परा, कला समेटेर निर्माण गरिने शाक्यले बताए।‘यो रिसोर्टको एम्पि थियटरमा सांगीतिक प्रदर्शनी, काष्ठ कला प्रदर्शनी, ध्यान, थाङ्का पेन्टिङ लगायत हुनेछ,’ उनले भने, ‘यहाँबाट हिमश्रृङ्खला सहजै देख्न सकिन्छ। अझै यहाँ भगवान बुद्ध शयन गरेको आकृतिको घना जंगल छ।’ रिसोर्टमार्फत स्थानीयलाई रोजगार दिएर आयआर्जनमा सहयोग गर्ने शाक्यले बताए।
शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
