‘नाङ्गो गाउँ’मा नेता बने दयाहाङ, ३३ दिनमा सुटिङ ‘प्याकअप’

‘दुई नम्बरी’ र ‘छ माया छपक्कै’ जस्तो सफल फिल्मका निर्देशक दीपेन्द्र लामाद्वारा निर्देशित पाँचौं फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ । दुई चरणमा खिचिएको फिल्म ३३ दिनमा सोमबार ‘प्याकअप’ भएको हो । फिल्मको दुईवटा गीत खिच्न भने बाँकी छ । फिल्मका मुख्य दुई अभिनेता दयाहाङ राई र कार्मको व्यस्तताका कारण गीतको छायांकन केही समय पछाडि सारिएको छ ।

छायांकन सकिएसँगै निर्माण टिमले दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । जसमा उनी नेताको हुलियामा प्रस्तुत छन् । उनको निधारमा टीका र गलाभरी माला छ भने शिरमा ढाका टोपी र दौरा सुरुवालमा कोट लगाएर नमस्कार गर्दै देखिएका छन् । उनको पछाडि पार्टीको झन्डा देख्न सकिन्छ । उनको साथमा रविन्द्र झा, बुद्धि तामाङ र विशाल पहाडीलगायत पनि छन् ।

फिल्ममा मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डेलगायतको पनि अभिनय छ । हिमाल शर्माको प्रस्तुतीमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । आगामी भदौको २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा आलोक शुक्लाको छायांकन र बनिष शाहको सम्पादन छ ।

कलाकारको लाइनअप बलियो भएकाले फिल्मलाई लिएर दर्शकमा पखाई ठूलो छ । ‘कबड्डी ४’ र ‘जारी’पछि तेस्रो पटक दयाहाङ र मिरुनाले एकसाथ काम गरेका हुन् । फिल्मको केही देशमा प्रदर्शन अधिकार विक्री भैसकेको छ । निर्देशक लामाले फिल्ममा सामाजिक कथावस्तुलाई निकै बलियो तरिकाले प्रस्तुत गरिएको दाबी गरेका छन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Comments are closed.