उनीहरू दिल फुकाएर हाँस्दै थिए ।
अवर्णको एस इ इ भर्खरै सकिएको थियो । र, उसले आफ्नो जन्मदिन मनाउन, स्कूलका आफ्ना कक्षाका सम्पूर्ण साथीसंगीहरू बोलाएको थियो ।
आमा एक्कासि कोठाभित्र प्रवेश गर्दै बोलाउनु भयो, “बाबू अवर्ण !”
सबैको हाँसो टक्क रोकियो र अनुहारमा प्रश्नवाचक धर्साहरू तेर्साए ।
– “आज मलाई तिमीहरूसङ्ग केही कुरा गर्नु छ ।” सहजढङ्गले आमाले भन्नू भयो, “बाबू-नानीहरू हो ! अब तिमीहरू लगभग सोह्रका भयौ ! मैले, छोरा अवर्णलाई झन्डै साँढेदुई वर्षको उमेरसम्म, छातीका यी लाम्टाहरू खुवाएको थिएँ !”
अवर्ण लाजले निहुरियो र अन्य साथीसङ्गीहरूले पनि शिर निहुराए ।
आमाले फेरि थप्नु भयो, “सायद सबैलाई आफ्नो आमाले यसरी नै हुर्काएको हुनुपर्छ ।”
अवर्णले बिस्तारै भन्यो, “आमा ! हजुरलाई के भयो आज ?”
छोराको संगीले सानो स्वरमा भनिन्, “हामीले कहिले भुल्दैनौँ आमा !
ती नानी छेउ आमा पुगेर कपाल मुसार्दै सम्झाईन्, “थाहा छ तिमीहरू ज्ञानी छौ ! तर उमेर र उत्तेजनाले मान्छे बहुलाउन सक्छ । हरेक दिनजस्तै राक्षसहरूले नाबालिकाहरूको निर्मम ढङ्गले इज्जत लुट्दै, ज्यान लिँदै छन् ।”
आमा आज अलि फरक थिइन् । आफ्नो छाती देखाउँदै भनिन् फेरि, “छोराहरू हो ! तिमीहरूले जीवनमा केवल दुईपल्ट मात्र यी लाम्टाहरूको स्वाद लिन पाउने छौ ! आमा र श्रीमतीको मात्र !” यतिमा मात्र आमा नरोकी भन्दै जानू भयो, “र, छोरीहरू ! तिमीहरूले पनि जीवनभरमा केवल दुईपल्ट मात्र ती लाम्टाहरू खुवाउन पाउने छौ !”—
कात्यायन