Trending Now

नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता-पत्रमा हस्ताक्षर

   काठमाडौं, ७ असोज

नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारकोतर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच “नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना” र “कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने” दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एवं नेपाल प्रहरी साइबर ब्यूरोका अधिकृतको समेत उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र गणतन्त्र कोरियाकोतर्फबाट नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोड-सुक पार्कले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा अर्थ सचिव पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर व्यूरोलाई सक्षम र सुसज्जित बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई समाजमा पुन:स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि दुई परियोजना महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा गणतन्त्र कोरियाका राजदूत पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साईबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने साइबर अपराध नियन्त्रण आयोजनाबाट महत्वपूर्ण सहयोग हुने बताउनुभयो ।

 

नेपाल प्रहरीको साइबर अपराध विरूद्धको क्षमतालाई सुदृढ गर्नुका साथै साइबर व्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण तथा डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको छ ।

प्रत्येक आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग २ अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने छ ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्यवमा आयोजनाहरू कार्यान्वयन गर्नेछ ।

Comments are closed.