गायिका मिरा राणा र सितार वादक प्राडा रेग्मी सम्मानित

पोखरा । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति सङ्गीत पुरस्कारबाट प्रसिद्ध गायिका मिरा राणा र सङ्गीतकार प्राडा धुर्बेशचन्द्र रेग्मीलाई सम्मान गरिएको छ।

शनिबार एक समारोहका बिच यस पुरस्कारबाट नेपाली साङ्गीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत राणा र शास्त्रीय सङ्गीतमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत प्राडा रेग्मीलाई सम्मान गरिएको हो।
लालबहादुर चण्डेश्वरी स्मृति सङ्गीत पुरस्कार अर्पण समारोह २०८१ मा प्रमुख आमन्त्रित नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार एवं कार्टूनिष्ट दुर्गा बराल वात्सायनले सम्मान पत्र, पुरस्कार संस्थापिका सरस्वती श्रेष्ठ र विजया मल्लले नगद राशि, सभापति गौतम बिजुक्छेले दोसल्ला र चयन समिति संयोजक तथा सल्लाहकार तीर्थ श्रेष्ठले माल्यार्पण गरी सम्मानित गरेका हुन् ।
कार्यक्रममा केन्द्रका द्वितीय उपाध्यक्ष श्यामलाल श्रेष्ठले शब्दद्वारा आमन्त्रित सबैलाई स्वागत गरेका थिए भने केन्द्रका प्रशिक्षक र प्रशिक्षार्थीहरुले स्वागत गानद्वारा स्वागत गरेका थिए। चयन समिति संयोजक तीर्थ श्रेष्ठले संस्था, पुरस्कार र सम्मानित व्यक्तित्वको परिचय राख्दै २०४६ सालमा स्थापित सङ्गीत प्रशिक्षण केन्द्रले सिकाइ मात्रै नभई सङ्गीत क्षेत्रमा निरन्तर योगदान गरेबापत स्रष्टाहरूलाई सम्मान गर्ने र नयाँ पिँडीलाई प्रोत्साहन गर्दै आएकोमा संस्थाका पुरस्कारहरू स्थापनामा संस्थापक अध्यक्षको पारिवारिक योगदानको चर्चा गरे ।

पुरस्कार संस्थापकका पारिवारिक प्रतिनिधि एवं चयन समिति सदस्य प्रेम कर्माचार्यले संस्थाको थप क्रियाशीलताको कामना गर्दै पुरस्कार व्यवस्थापनमा केन्द्रको भूमिका मुक्त कण्ठले प्रशंसा गरे भने वरिष्ठ साहित्यकार एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र हार्मोनी समूह पोखराकी अध्यक्ष इतु जोजिजुले शुभकामना मन्तव्य राख्दै सम्मानित स्रष्टाहरूलाई बधाई ज्ञापन गरे ।
केन्द्रको सङ्गीत समूहले सम्मानित स्रष्टाहरूका गीतसङ्गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा सम्मानित गायिका मिरा राणाले पुरस्कार लायक देखेर केन्द्रले सम्मान गरेकोमा केन्द्र र चयन समितिप्रति कृतज्ञता ज्ञापन गरिन् । सो क्रममा उनले आफ्नो चर्चित गीत ‘मखमली चोली चाहिँदैन’ प्रस्तुत गरेकी थिइन् ।
अर्का सम्मानित व्यक्तित्व प्राडा ध्रुवेश चन्द्र रेग्मीले स्वच्छ भावनाले साधनारत स्रष्टालाई संस्थाले प्राथमिकतामा राख्नु आफैमा पुरस्कारको गरिमाको विषय रहेको भन्दै खुसी व्यक्त गरे। साथै केन्द्रका तबला प्रशिक्षार्थी मिलन गिरि र आर्जव पौडेलसँग सितारमा शास्त्रीय र लोक शैलीका केही प्रस्तुति समेत राखेका थिए ।
प्रमुख आमन्त्रित वरिष्ठ कलाकार वात्सायनले जुनसुकै क्षेत्रमा पनि सही व्यक्तिलाई सही पुरस्कार अर्पण गर्नुले सम्मान प्रदान गर्ने संस्था र पुरस्कार आफै सम्मानित हुने बताउँदै सङ्गीत क्षेत्रका दुई अब्बल साधकलाई प्रमुख अतिथिको रूपमा सम्मानित गर्ने अवसरका लागि धन्यवाद ज्ञापन गरे । समारोहको सञ्चालन संस्थाका महासचिव मोहदत्त काफ्लेले गरेका थिए ।
यस पुरस्कारबाट नेपाली सङ्गीतका शिखर पुरुष स्व अम्मर गुरुङ, दीप श्रेष्ठ, स्व गायक सरोज गोपाल बज्राचार्य ,स्व धनबहादुर गायक, स्व कल्याण शेरचन,बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु सङ्गीतकार रञ्जित गजमेर तथा अभिनेत्री मिथिला शर्मा सम्मानित भइसकेका छन्। हाल यस पुरस्कारको राशि रु एक लाख एक रहेको छ।