काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यतिबेला मुलुकमा जातीय विद्वेष फैलाउने कोसिस भइरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको बडाभोज कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय स्वाधीनता स्वाभिमान र अखण्डताको विषयलाई कमजोर बनाउनु प्रयत्न भइरहेको बताउनुभयो । यस्तो अवस्थामा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महत्पूर्ण भूमिका हुने पोखरेलले बताउनुभयो ।
नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र बहु धर्म भएको मुलुक हो भन्ने कुरा सबैले बुझ्नु पर्ने उहाँले बताउनुभयो । त्यसैले एउटा भाषा, संस्कार र संस्कृति मान्नेले अर्काकोलाई पनि सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सामाजिक सद्भाव जगमा राष्ट्रिय हित अडेको छ, यदि सामाजिक सद्भाव खलबलियो भने हाम्रो सामाजिक हित खलबलिन पुग्छ’, उहाँले भन्नुभयो ।
शासन सत्तामा बस्नेहरू समेत अहिले राष्ट्र हित विपरीत, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता विरुद्ध उभिएका उहाँले बताउनुभयो । अहिले देशमा सामाजिक अराजकता बढेको र त्यसमा सत्तामा नै रहेकाहरू संलग्न रहेको पोखरेलको भनाई छ ।
अहिले नेपाली सेना जस्तो संगठनलाई समेत तहसनहस बनाउने प्रयत्न भएको उहाँले बताउनुभयो । त्यसको विरुद्ध समेत खबरदारी गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । एक पटकको लागि दिएको अवसरलाई बारम्बार दुरुपयोग गर्ने प्रयत्न गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘नेपालको सुरक्षा निकायमा समेत त्यो अराजकताको विष छर्ने, त्यस्तो कोसिस हुँदै छ’, उहाँले भन्नुभयो ।