भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेका छन्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेका बताएका छन् ।

पार्टीको तीनमहिने ‘विशेष रूपान्तरण अभियान’ माओवादी घटक दलहरूबीच उनले बताएका हुन् ।

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आयोजित सहिद स्मृति मेला उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूबीच एकता आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘हामी ठूलो पार्टीका रूपमा उदाएका थियौं। बिडम्बना, हामी सबै फरक–फरक बाटोतिर लाग्यौं। हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिबद्धता जनतासामु गरेका थियौं, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि उहाँहरूलाई के कुरा चित्त बुझेन, पार्टी नै फुटाउनुभयो।’

उनले थपे, ‘केही साथीरू फरक बाटोमा लागेको भए पनि अझै केही बिग्रिएको छैन। हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ। हामीले समाजवादी मोर्चा नै बनाएका छौं। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ। समाजवादी मोर्चाको एउटा अभियान छ। हाम्रो पार्टीको एउटा अभियान छ। यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरूको एकता हो।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी पनि गरे। आफूहरूले निकै बलियो सरकार बनाएको भन्दै उनले यो सरकार पाँचै वर्ष रहने बताएका हुन्।

‘कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनविरूद्ध लागेको पनि देखियो। अन्ततः कोशीमा पनि गठबन्धनकै सरकार बन्छ ।’ उनले भने।

सरकार ढाल्न र गठबन्धन फुटाउनतर्फ केही दल लागि परेको उनले आरोप लगाए। सरकारले पछिल्लो समय सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैं अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको बताए।

‘हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध बलियो बनाएका छौं। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक देखिन्छन्,ु उनले भने।

वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका दाबी उनले गरे।

‘हामीले मिटरब्याजीलाई कारबाही गरेका छौं। नक्कली भुटानी शरणार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौं। यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरूको ठूलो साथ र सहयोग छ ।’ उनले भने।