स्वरूपराजको ‘म एक्लै छु’ गीत सार्वजनिक

काठमाडौं । गायक स्वरूपराज आचार्यको स्वरमा आधुनिक गीत ‘म एक्लै छु’ सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जीवनमा सबै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैँमा एक्लिएको तेस्रो लिङ्गी पात्रको कथा गीतमा समेटिएको छ । गीत र भिडियोमा समाजले अस्तित्व स्वीकार नगर्दा र राज्यले नागरिक अधिकार प्रत्याभूत नगर्दा दोहोरो मारमा परेको तेस्रो लिङ्गी समुदायको यथार्थपरक कथा प्रस्तुत गरिएको छ ।

गीतको शब्द रचना र प्रस्तुति कुमार रेग्मीले गरेका हुन् । जोसेफ शाहीको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको गीतमा किशोर थापाको ध्वनी सम्पादन रहेको छ ।

भिडियोमा कलाकारद्वय जीवन भट्टराई र लक्ष्मी बर्देवाका साथै गीतकार समेत रहेका कुमार रेग्मी, सागर दाहाल, टीका निरौला, शान्ता रेग्मीलगायतको अभिनय छ ।

Comments are closed.