काठमाडाैं । सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी बनाउन सम्बन्धित समितिका सभापतिहरुलाई निर्देशन दिनुभएकाे छ ।
प्रतिनिधि सभा मातहतका १० विषयगत समितिका सभापतिसँग साेमबार भएकाे बैठकमा सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशनम लैजाने गरी तयारी गर्न पनि निर्देशन दिनुभयाे ।
उहाँले समितिमा कोरम नपुगेर बैठक स्थगित हुने समस्यालाई समाधान गर्न पनि निर्देशन दिनुभयो । समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन हटाउन, समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाबारे अवगत हुन पनि सभामुख घिमिरेले निर्देशन दिनुभयाे ।
समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्णसाथ सहयोग रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे ।
छलफलपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिको निर्देशन कार्यान्वनको अवस्था, समितिको कार्यक्षेत्र लगायत विषयमा छलफल भएको जानकारी दिनुभयो । सरकारसँगको समन्वयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा पनि छलफल भएको उहाँले बताउनुभयाे ।
बैठकमा समिति सभापतिले सम्बन्धित समितिमा भएका बैठक, निर्देशन, उपलब्धि र अन्य कार्यसम्पादनसम्बन्धी विषयमा जानकारी गराउनुभएकाे थियाे ।
प्रतिनिधि सभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् ।