पोखरा। नारी स्रष्टा नामक पोखरामा विशेष कवि गोष्ठी सम्पन्न भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)ले काठमाडाैंस्थित अर्को नारी साहित्यिक संस्था गुन्जन नारी साहित्यिक संस्थालाई निम्तो दिएर नारी स्रष्टा विशेष कवि गोष्ठी सम्पन्न गरेको हो।
कार्यक्रममा ७० नाघेका आधा दर्जनसँगै दुई दर्जनभन्दा बढी नारी स्रष्टाले कवितामार्फत आ–आफनो सृजना वाचन गर्दा दर्शक दीर्घामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तदेखि कवि मन्जुल, रंगकर्मी प्रकाश घिमिरेसँगै कवि, सहित्यकार एवं सर्वसाधारण स्रोताका रूपमा रहेका थिए।
कार्यक्रममा आयोजक पोयुसांपकी अध्यक्ष रिता अधिकारीले आफ्नो सिर्जना वाचन गरी गोष्ठीको सुरुवात गरेकी थिइन्। त्यसपछि उमेरले ७० नाघेकी गुन्जन नारी साहित्यिक संस्थाकी अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ आख्यानकार पद्मावती सिंह, वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठ र साहित्यकार तथा प्राज्ञ सुलोचना मानन्धर धिताललगायतका रहेका थिए। हजुरआमा उमेरका ७० काटेका उनीहरूको जोश भने अझै पनि तन्नेरीको जस्तैँ थियो।
कार्यक्रममा गुन्जन नारी साहित्यिक संस्थाकी अध्यक्ष श्रेष्ठले आफूले साहित्य लेखन सुरु गर्दा अध्यारो मुख लगाएर हिड्नुपर्ने समय रहेको भए पनि आजको समयमा आई पुग्दा साहित्य लेख्ने दिदीबहिनीहरूको मुहार उज्यालो देख्न पाउँदा विगतमा आफूले पाएको र गरेको दुःख बिर्सने गरेको बताइन् । विगत सम्झदै उनले ६५ वर्षअघि पढ्नुपर्छ भनेर आफूले घरटोलबाटै विद्रोह गरेर पढ्न सुरु गरेको बताइन्। तत्कालीन अवस्थामा आफू मात्र नभएर छरछिमेकका दिदीबहिनीहरू बटुलेर पाठशाला गएको स्मरण गर्दै सोही कारण अहिले आफू ढुक्कसँग बोल्नसँगै आफ्ना सिर्जना सुनाउन सकेको बताइन्।
प्राज्ञ हरिदेवी कोइरालाले माछापुच्छ्रेको आँगन फेवातालमा नारी स्रष्टाका सिर्जनाहरू साटासाट गरी सुन्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको निरन्तरताको कामनासँगै यसका लागि आफूले समेत पहल गर्ने बताएकी थिइन्।
गोष्ठीमा पोखराबहिरबाट आएका श्रेष्ठ, सिंह, श्रेष्ठ, मानन्धरसँगै इल्या भट्टराई, सिर्जना शर्मा, उपमा आचार्य, क्रान्ति पराजुली, गीता कार्की, कमलासृष्टि शाक्य, सन्ध्या पहारी, सुस्मिता नेपाल, डा. रेणुका सोलु, डा. रजनी ढकाल, सुलोचना मानन्धर, डा. ज्ञानु पान्डेसँगै पोखराकी हरिदेवी कोइराला, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठ ‘सरु’, ईशा शाह, गीता अधिकारी, छन्दिका त्रिपाठी, गौरी तमु, लक्ष्मी थापा, शुभ शर्मा, केशु शर्मा, संगीता बराल बिसीलगायतका नारी स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गरेका पोयुसांपका पूर्वअध्यक्ष मोती भुजेलले जानकारी दिए।