अझै पनि महिलाको यो प्रगतिमा सन्तुष्ट हुने अवस्था छैन:प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ ।

शुक्रबार हेटौँडामा नेपाली महिला उद्यमी महासंघले आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अझै पनि महिलाको यो प्रगतिमा सन्तुष्ट हुने अवस्था नरहेको बताउनुभयाे । ‘महिला सशक्तीकरणका लागि अझ धेरै काम गर्न बाँकी छ, जुन काम राष्ट्रले र सरकारले मात्र गरेर सम्भव हुन्न, यसमा सबैको हातेमालो आवश्यक छ’, दाहालले भन्नुभयो ।

सशक्तीकरण आजको संसारमा शक्तिसँग जोडिएको दाहालले बताउनुभयो । यो विषय आर्थिक शक्तिसँग जोडिने उहाँको धारणा छ । ‘आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन पनि सक्दैन, आजको संसारमा महिला सशक्तीकरणको लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो’, दाहालले भन्नुभयो ।

उहाँले महिलालाई उद्यममार्फत महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो । ‘महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न पनि सकिँदैन’, उहाँले भन्नुभयो ।

आफूले राजनीतिक नेतृत्वको लागि महिला सशक्तीकरणको लागि निक्कै ठुलो संघर्षको नेतृत्व गर्ने अवसर आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । राजनीतिक रूपमा महिलाको राम्रो उपस्थिति भए पनि आर्थिक रूपले सबल नबनाउँदासम्म महिला सशक्तीकरण हुन नसक्ने दाहालको धारणा छ । राजनीतिक सहभागिताले मात्र महिला सशक्तीकरण सम्भव नभएको उहाँले बताउनुभयो ।

महिला उद्यमीको नेतृत्वमा सञ्चालन भएका उद्योगलाई सबल बनाउन कर छुट लगायतका सहयोग गर्ने विषयमा आफूले सोच विचार गरेर निर्णय गर्ने उहाँले बताउनुभयो ।

हस्तकला नेपालको राष्ट्रियतासँग जोडिएको विषय भएको उहाँले बताउनुभयो । महिलाको हस्तकला मार्फत नेपालका राष्ट्रियतालाई विश्वव्यापीकरण गर्न सकिने उहाँले धारणा राख्नु भयो । मेलाले यो कुरामा सहयोग गर्ने उहाँले बताउनुभयो ।