Trending Now

साझा प्रकाशनले पुस्तक प्रदर्शनी सुरु ‘एक रुपैयाँमै पुस्तक’

काठमाडौँ — साझा प्रकाशनले पुल्चोकस्थित केन्द्रीय कार्यालयमा पुस्तक प्रदर्शनी सुरु गरेको छ । पुस्तक प्रदर्शनीमा एक रुपैयाँमै पनि पुस्तक खरिद गर्न सकिन्छ । प्रदर्शनीमा वासुदेव शर्मा लुइँटेलको कवितासंग्रह ‘भीमसेनपाती’को मूल्य एक रुपैयाँ रहेको छ ।
रुपायन प्रकाशन काठमाडौंद्वारा २०२७ सालमा प्रकाशित संग्रहको पुस्तकको मुल्य एक रुपैयाँ रहे पनि हाल प्रकाशनले २ रुपैयाँ तोकेको छ । साझाले प्रदर्शनीमा २०४० सालभित्र प्रकाशित भएका पुस्तकहरूमा ५० प्रतिशत छुट दिएकाले छुटसहित पुस्तक एक रुपैयाँमै खरिद गर्न सकिन्छ ।
‘संस्कृति नेपाली शब्दकोष’ प्रदर्शनीमा सबैभन्दा बढी मूल्य कायम गरिएको पस्तक हो । जसलाई प्राध्यापक नीलमणि ढुंगानाले लेखेका हुन् । उक्त पुस्तकको मूल्य २८ सय रुपैयाँ रहेको छ । साझाका अनुसार प्रदर्शनीमा आफ्नै प्रकाशनका मात्र २१ सयभन्दा बढी पुस्तकहरू प्रदर्शनीमा छन् । साझा बाहेक प्रज्ञा प्रतिष्ठान तथा अन्य संस्थाहरूबाट प्रकाशित पुस्तकहरू समेत प्रदर्शनीमा राखिएका छन् ।
दसैं तथा तिहारको अवसर पारेर नेपाली साहित्यप्रेमी पाठक, अनुसन्धाता तथा स्रष्टाहरूका लागि पुस्तक प्रदर्शनी गरिएको साझाका महाप्रबन्धक प्रल्हाद पोख्रेलले बताए । उनका अनुसार कोरोना महामारी हुनुअघि साझाले पुस्तक प्रदर्शनीलाई निरन्तरता दिइरहे पनि महामारीका कारण रोकिएपछि पुनः सुरु गरिएको हो । महामारीपछि वैशाख महिनामा पनि भण्डारणमा रहेका पुस्तकहरू पाठकसमक्ष पु¥याउन साझाले केन्द्रीय कार्यालयसँगै, प्रज्ञा प्रतिष्ठान, भृकुटीमण्डप, विराटनगर, धरान, पोखरा, चितवन लगायत देशैभरका १४ शाखामा ८० प्रतिशतसम्म छुट दिएर पुस्तक प्रदर्शनी गरेको थियो ।
अहिलेको प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, संस्कृति, धर्म, राजनीति, स्वास्थ्य, विज्ञान, शिक्षा, कृषि, यात्रा संस्मरण, जीवनी तथा बाल साहित्यका पुस्तकहरू समावेश गरिएको पोख्रेलले बताए। प्रदर्शनीमा २०५० सालभित्र प्रकाशित पुस्तकहरूमा ४० प्रतिशत, २०५१ सालपछि प्रकाशित पुस्तकहरू र अन्य प्रकाशनका पुस्तकहरूमा ३० प्रतिशत, सबै किसिमका शब्दकोशहरूमा २५ प्रतिशत र गरिमा २०७८ अघिका अंकहरूमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनीमा बाल साहित्य र जीवनीका पुस्तकहरूप्रति पाठकको रोजाइमा रहेको उनको भनाइ छ । उनले भने, ‘प्रदर्शनीले पाठकको आवश्यकता पूर्तिसँगै साझालाई पनि केही आर्थिक लाभ भएको छ । पाठकलाई कस्ता प्रकारका पुस्तकहरू चाहिने रहेछ भन्ने कुरा पनि प्रदर्शनीबाट थाहा भएको छ ।’ साझाले नयाँ लेखकहरूसँग समन्वय गरेर नयाँ पुस्तकहरू पनि प्रकाशन सुरु गरेको उनले बताए । ‘साझाको आफ्नै समस्याहरूले हामीले लेखकलाई रोयल्टी दिन नसकेको हामी स्वीकार्छौं, तर नयाँ लेखकहरूलाई भने स्वयं लेखकले नै ५ सय वटा पुस्तकहरू खरिद गर्ने सर्तसहित सुरुमै रोयल्टी दिएर पुस्तक प्रकाशन गर्न थालेका छौं’, उनले भने ।
साहित्यिक पुस्तक, पाठ्यपुस्तक निर्माण तथा प्रकाशन, पुस्तक बिक्री तथा वितरणमा साझालाई सरकार मातहतको अग्रणी संस्थाका रुपमा लिइन्छ । पछिल्ला दशकमा राजनीतिक हस्तक्षेपले धराशायी बन्दै आर्थिक संकटमा परेको साझा पुनः तग्रिने अवस्थामा प्रयासरत छ । साझाले २०७५ मंसिरदेखि बन्द गरेको गरिमा पत्रिकाको साउन महिनादेखि पुनः प्रकाशन थालनी गरेको छ । पुस्तक प्रकाशन, पुनः प्रकाशन, पाठ्यक्रम निर्माण जस्ता सबै कार्यलाई बिस्तारै निरन्तरता दिएर साझालाई अगाडि बढाउने प्रयास जारी रहेको पोख्रेलले बताए ।
भदौ १९ गते सुरु गरिएको यही शुक्रबारसम्म जारी रहनेछ ।

 

Comments are closed.