काठमाडौं । बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ । बजार ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ ।
आज १५९ कम्पनीको सेयरमूल्य घटेकाे छ । उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन् । उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ ।
घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको सेयरमूल्य भने सर्किटस्तरमा बढेको छ । बोटलर्स बालाजुको सेयर प्रति कित्ता १२ हजार तीन सय ९३ रुपैयाँ पुगेको छ भने बोटलर्स तराईको सेयर प्रति कित्ता १३ हजार एक सय ९४ रुपैयाँमा किनबेच भएको छ । समाज लघुवित्तको एक हजार नौ सय ७८ पुगेको छ । यस्तै हिमालय ऊर्जाको कित्ताको तीन सय ३५ रुपैयाँ भएको छ ।
अघिल्लो दिनका तुलनामा सेयर कारोबार ८७ करोडले कम भएको छ । बुधबार ६३ लाख ४१ हजार एक सय ७४ कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ ।
कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । हिमालयनको एक लाख ७३ हजार पाच सय ३७ कित्ता सेयर ११ करोड १२ लाखमा कारोबार भएको छ । सेयरमूल्य ६ सय ३३ रुपैयाँ २० पैसा प्रति कित्ता रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस्तै एनआइसी एसिया बैंकको ६ करोड २६ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको ६ करोड र सगरमाथा जलविद्युतको पाच करोड ८६ लाखको सेयर किनबेच भएको छ ।