इलाम । शनिबार भएको उपनिर्वाचनमा इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।
एमालेका नेम्वाङले २७ हजार ७७२ मत पाउनु भएको हो भने कांग्रेसका खड्काले २१ हजार ९४२ मतमै चित्त बुझाउनु पर्ने स्थिति बन्यो । १९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मत मात्रै पाउनु भयो ।
२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम- २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए । निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो । इलाम-२ बाट निर्वाचित भएका सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेम्वाङलाई निर्वाचन आयोगले ११ बजे प्रमाणपत्र प्रदान गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
बझाङ प्रदेशसभा-१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।