सुख भिल्लाजले चितवनमा २ अर्ब लगानी गरेर ७० घर निर्माण गर्दै

चितवन, सिद्धी हाउजिङ प्रालिले चितवनमा सुख भिल्लाज ब्राण्डमा हाउजिङ परियोजना सञ्चालन गर्ने भएको छ। वीरगञ्ज र काठमाडौंमा रियल स्टेट व्यवसाय सञ्चालन गरिरहेको यो हाउजिङ कम्पनीले भरतपुर–९ मा ७० वटा घरहरू निर्माण गर्ने परियोजना सुरू गर्न लागेको हो। पूर्व–पश्चिम राजमार्गदेखि करिब ३ सय मिटरभित्र ५२ कट्ठा जमिनमा ७० वटा घर निर्माण गर्न लागेको हाउजिङका लगानीकर्ता सौरभ तिम्सिनाले बताए। उक्त स्थान भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकदेखि ८ सय मिटर पर पर्छ।
‘हामी अब निर्माणको काम सुरू गर्दैछौं। ३० महिनाभित्रमा परियोजना पुरा हुन्छ,’ उनले भने, ‘पहिलो चरणमा ६ महिनाभित्र ८–१० वटा घर निर्माण गरिसक्छौं । ’करिब २ अर्ब लगानीमा हाउजिङ परियोजना निर्माण हुनेछ। यस्तै घरहरूका लागि बुकिङ खुल्ला गरिएको उनले बताए।
१० देखि १२ धुर जमिनमा २३ सय २५ देखि २६ सय ९५ वर्गफिटका साढे २ तल्लाको घर बनाउन लागिएको हो। अहिले बुक गर्नेका लागि घरको मूल्य २ करोड २५ लाख रुपैयाँ तोकिएको छ।‘हामीले चितवनमा पहिलो पटक प्लानिङ पर्मिट लिएर हाउजिङ परियोजना सुरू गरेका छौं। यहाँ बन्ने घरहरुको मूल्य २ करोड ६५ लाख रुपैयाँ हो तर हामीले प्रि–बुकिङ छुट योजना अन्तर्गत ४० लाख रुपैयाँ छुट दिइरहेका छौं,’ तिम्सिनाले भने।
कूल जमिनको २५ प्रतिशत सडक, ५ प्रतिशत भन्दा बढी खुल्ला स्थान र करिब ३ प्रतिशत सामाजिक क्षेत्र रहनेछ। परियोजनाभित्र स्विमिङ पुल, जिम हल, मन्दिर, कन्फ्रेसन हल पनि रहने छन्। ‘देशमा आर्थिक मन्दी देखिएको समयमा पनि लगानी गर्न लागेका छौं। केही वर्षयता भरतपुरमा पूर्वाधार विकासको काम द्रूत गतिमा भइरहेको छ। विकासको अवस्थासँगै सबैमा आधुनिक लक्जरी आवासको सुविधा दिने हाम्रो उद्देश्य हो,’ तिम्सिनाले भने, ‘मन्दीको अवस्था अब धेरै समय रहन्छ जस्तो लाग्दैन। इकोनोमीको ग्राफ तल झरेजस्तै माथि पनि उठिहाल्छ।’
सुख भिल्लाजले वीरगञ्जमा १०४ वटा घर बनाइरहेको छ। तीमध्ये २० वटा घर बुकिङ भइसकेका छन्। काठमाडौंको सानो भर्‍याङमा पनि परियाजना सुरू गर्न लागेको छ। त्यहाँ ६०–७० वटा घर बनाउने तयारी छ। बाफलको परियोजनाका सबै घरहरू बिक्री भइसकेको जनाइएको छ। सिद्धी हाउजिङमा मित्तल र क्वेस्ट समूहको लगानी छ।