क्वालिफायर जितेर फाइनल पुग्ने सनराइजर्सको सम्भावना कायमै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा कोलकाता नाइट राइडर्स प्रवेश गरेको छ । गएराति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकात्ता उपाधिनजिक पुगेको हो ।
कोलकाता चौथोपटक यस लिगको फाइनलमा पुग्दा हैदराबाद दोस्रोपटक क्वालिफायर-१ मा पराजित भयो । सनराइजर्ससँग क्वालिफायर-२ जितेर फाइनल पुग्ने सम्भावना अझै छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १९ ओभर ३ बलमा १५९ रनमा अलआउट भएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिक क्लासन ३२ रन र कप्तान प्याट कमिन्स ३० रनमा आउट भए । कोलकाताका मिचेल स्टार्कले ३ तथा वरुण चक्रवर्तीले २ विकेट लिए ।
जवाफमा कोलकाताले १३ ओभर ४ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कोलकाताका ओपनर रहमानउल्लाह गुरबाज २३ र सुनील नारायण २१ रनमा आउट भए । कप्तान श्रेयस अय्यर सर्वाधिक ५८ रनमा अविजित रहे । ५१ रन बनाएका वेंकटेस अय्यर पनि अन्तिय सम्म क्रिजमै रहे । हैदराबादका कप्तान प्याट कमिन्स र टी नटराजनले समान १/१ विकेट लिए ।
आईपीएलको एलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु प्रतिस्पर्धा गर्नेछन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा शुक्रबार हैदराबादको सामना गर्नेछ । दोस्रो क्वालिफायरको विजेता र कोलकाता आइतबार उपाधिका लागि भिड्नेछन् ।

Comments are closed.