३३ वर्षको जेल सजाय सुनाइएकी सू चीलाई जेलबाट सरकारी भवनमा सारियो

सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलाई जेलबाट सरकारी भवनमा सारिएको छ।

नेशनल लिग फर डेमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेतृ सू चीलाई उच्चस्तरीय परिसरमा सारिएको हो। उनले तल्लो सदनका सभामुख ती खुन म्याटसँग भेटवार्ता पनि गरेकी छिन्।

उनले चीनका एशियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन्। यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए।

म्यान्मामा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सू चीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ।

निर्वाचित नेतृ सू चीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा ३ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन्।

हिरासतमा रहेकी ७८ वर्षीया नोबेल पुरस्कार विजेता सू चीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ। उनीमाथि भ्रष्टाचार, गैरकानूनी रूपमा वाकीटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेको लगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ।