Trending Now

ढोरपाटनकाे तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

ढोरपाटन । बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन् । वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला । चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो ।
बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै रमणीय छ । परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक देखिन्छ ।

विसं २०६७ मा सडकले जोडिए पनि उतिबेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो । म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ । गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि तमान गाउँको आकर्षक भनेको ढुङ्गे घर नै हो । गाउँमा प्रशस्तै ढुङ्गा पाइने हुँदा स्थानीयले सदुपयोग गरी घरलाई चिटिक्क बनाउँदै आएका छन् । जिल्लाको धेरै ठाउँमा यस्ता मौलिक घर हराउँदै गइरहेका सन्दर्भमा यहाँ भने जहाँतहीँ देख्न सकिन्छ । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले झनै मोहित बनाउँछ ।
गाउँका टोलटोल र बस्तीबस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौँ भुलाउन सक्छन् । तर पछिल्लो समय आधुनिक प्रविधिको विकासले गर्दा यस्ता मौलिक घर सङ्कटमा पर्ने खतरा बढेको छ । गाउँमा सडकको सहज पहुँच पुगेपछि कङ्क्रिटका घर तथा भवन ठडिन थालेका छन् । यस्ता घर भवनलाई रोकी तमानलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्न तमानखोला गाउँपालिकाले योजना बनाएको छ ।
गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकारप्रकारको बनाउने योजना अघि सारेको छ । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँको भनाइ छ । पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातीत वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरले बताए ।

“तमान निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर पुरानै शैलीका छन्, गाउँको संस्कार संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो”, अध्यक्ष बुढा मगरले भने । गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।

अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने बताए। घरका छेउछाउमा ढुङ्गा बिछ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उनको भनाइ छ । देशका दश नमुना सहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ ।

Comments are closed.