बिरामीको निधनपछि मणिपाल अस्पतालमा तनाव

गण्डकी । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।

असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याइनुभएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको ज्यान गएपछि आफन्तजन आक्रोशित बनेका छन् ।

उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन् ।

उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ । चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन् ।

अस्पताल प्रशासन र दिवङ्गत दुराका आफन्तबीच वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको वार्ता कुनै टुङ्गोमा नपुगेको जनाइएको छ ।

अस्पतालको अवस्था नियन्त्रणबाहिर नजाओस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रवक्ता विकले बताउनुभयो ।

अस्पताल व्यवस्थापनले घटनाको यथार्थ छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

–रासस