नेपालमा ४१ लाख सस्तो भयो टेस्ला मोडेल वाई, के छ तपाईंको विचार ?

काठमाडौं । नेपाली बजारमा टेस्लाको नयाँ मूल्य सार्वजनिक भएको छ । टेस्लाको आधिकारिक बिक्रेता आरित इन्टरनेसनल (Arete International) ले आर्थिक वर्ष २०८०/८१ को बजेटपछि भर्खरै नयाँ मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेस्ला मोडेल वाई लङ रेञ्ज भरियन्टको मूल्य ४१ लाखले घटेको छ । यसअघि सो मोडेलको मूल्य दुई करोड ४० लाख रहेकोमा कम्पनीले घटाएर एक करोड ९९ लाख रुपैयाँ राखेको हो ।

यसमा ७५ किलोवाट प्रति घण्टा क्षमताको ब्याट्री र २९१ किलोवाट क्षमताको मोटर राखिएको छ । ४.६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको गति समात्न सक्ने यो मोडेलले एक पटकको फुल चार्जमा ५२५ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेकाे बजेटमा १०० देखि २०० किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार महशुल ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत र अन्तशुल्क ३० प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारिदिएका थिए । यसैगरी २०० देखि ३०० किलोवाट क्षमतामा विद्युतीय सवारीमा ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

यसमा ५ प्रतिशत अन्तःशुल्क घटेको छ । कम्पनीले यी रेञ्जभित्र पर्ने आफ्ना तीन ओटा मोडेलको मूल्य घटाएर नयाँ मूल्य सार्वजनिक गरेको हो । कम्पनीका अनुसार टेस्ला मोडेल थ्रीको मूल्य २० लाख रुपैयाँले घटेको छ ।

यसअघि एक करोड ५५ लाख मूल्य रहेको उक्त मोडेलको नयाँ मूल्य एक करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यसमा ५४ किलोवाट प्रति घण्टा क्षमताको ब्याट्री र १९८ किलोवाट क्षमताको मोटर रहेको छ ।

कम्पनीका अनुसार यसमा ४.६ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति पकड्न सकिन्छ । यसैगरी मोडेल थ्रीले एक पटकको फुल चार्जमा ४५१ किलोमिटर रेञ्ज दिने कम्पनीको भनाई छ ।

त्यस्तै टेस्ला मोडेल वाईको स्ट्यान्डर्ड भर्सनको मूल्य २६ लाखले घटेको छ । यसअघि सो मोडेलको मूल्य दुई करोड १५ लाख रहेकोमा नयाँ मूल्य एक करोड ८९ लाख रुपैयाँ पर्नेछ ।

टेस्ला मोडेल वाई स्ट्याण्डर्ड रेञ्ज भरियन्टमा ५४ किलोवाट प्रति घण्टा क्षमताको ब्याट्री र २०९ किलोवाट क्षमताको मोटर दिइएको छ । कम्पनीका अनुसार ६.१ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति प्राप्त गर्नसक्ने यो मोडेलले एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ ।#techpana