दोस्रो उमाकुण्ड लिग फुटबल प्रतियोगिता भूजीमा हुँदै

काठमाडौं ।  रामेछापको उमाकुण्ड गाउँपालिकामा ‘उमाकुण्ड लिग २०८०’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

लिखु भूजी रामेछाप युवा क्लबको आयोजनामा र उमाकुण्ड गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । उमाकुण्ड –७ भूजीमा मङ्सिर २९ गतेबाट उमाकुण्ड लिगको दोस्रो संस्करण अन्तर्गत सो प्रतियोगिता हुन लागेको सो गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष सुदीप मुलिचाले जानकारी दिनुभयो ।

प्रतियोगिताको लागि मङ्सिर ३ गतेबाट मङ्सिर २२ गतेसम्म टिम दर्ता खुला गरिएको छ । मङ्सिर २२ गते अपराह्न ३ बजेसम्म टिम दर्ता गरिने र मङ्सिर २२ गते अपराह्न प्रतियोगिताको टाइसिट सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टिमलाई मात्र सहभागी गराइने आयोजकले जनकारी दिएको छ । १६ टिम दर्ता भएपछि टिम दर्ता बन्द गरिने छ । एक जिल्ला भन्दा अन्य जिल्लाका र राष्ट्रिय स्तरमा अनुबन्धित कुनैपनि श्रेणीका खेलाडीलाई खेलमा समावेश नगराइने आयोजक क्लबका अध्यक्ष शेरकुमार सुनुवारले जानकारी दिनुभयो । मोफसलका खेलाडीलाई स्थान दिन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ  । उपविजेताले १ लाख नगद साथै मेडल तथा प्रमाणपत्र प्राप्त प्राप्त गर्नेछ । यस्तै,  सेमिफाइनल पुग्ने दुई टिमले प्रति टिम ४० हजार रुपैँया नगद प्राप्त गर्नेछन् ।

क्वाटर फाइनल पुग्ने चार टिमलाई प्रति टिम २० हजार रुपैँया नगद प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्ने कार्यक्रम रहेको छ ।