अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खला सम्पन्न

रामकुमार पण्डितका एक दर्जन कविता गुञ्जिए

काठमाडौं, २०८१ जेठ १२ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९० औँ शृङ्खलामा साहित्य सिर्जना, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका र लेखाव्यवसायीसमेत रहेका अहिलेको समयका अत्यन्त सक्रिय प्रगतिवादी स्रष्टा रामकुमार पण्डित क्षेत्रीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, महासचिव नन्दु उप्रेती, नर्मदेश्वरी सत्याल, कणाद महर्षि, अनिल पौडेल, डम्बर पहाडी, त्रिलोचन आचार्य, अच्युत पौडेल, जयराम बिडारी, खेमनाथ निरौला, कविनायककी जीवनसङ्गिनी सुनिता खड्का पण्डितलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने रूपक अलङ्कारले कविनायकको परिचय दिनुहुँदै वि.सं.२०३२ साउन १ गते माता नारायणी पण्डित क्षेत्री र पिता विनोदकृष्ण पण्डित क्षेत्रीका सुपुत्रका रूपमा बौद्ध, सिमलटार, काठमाडौँमा जन्मिएका रामकुमार पण्डित क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए र जनप्रशासनमा एमपिए उत्तीर्ण गर्नुका साथै विक्रमशिला हिन्दी विद्यापीठ बिहार भारतबाट विद्यावाचस्पति सारस्वत सम्मान (विद्यावारिधि) उपाधि हासिल गर्नुभएको छ । ‘देशको खोजी’ लघुकथासङ्ग्रह २०७१, ‘बुद्धविचार’ बालकवितासङ्ग्रह २०७३, ‘मन्दिर र आओ’ कवितासङ्ग्रह २०७४, ‘आधुनिक माधवी’ कथासङ्ग्रह २०७७, ‘वर्ष साहित्य पुस्तक’ समीक्षासङ्ग्रह २०७८ र ‘देशको चित्र’ लघुकथासङ्ग्रह २०७९ जस्ता साहित्यिक कृति नेपाली साहित्यमा भण्डारण गरिसक्नुभएको छ । आधा दर्जनभन्दा बढी साहित्यिक पत्रपत्रिका तथा स्मारिकाको सम्पादनसमेत गर्नुभएका पण्डितले झण्डै एक दर्जन मान, सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । आधा दर्जन साहित्यिक सङ्घसंस्थामा सक्रियता देखाइरहनुभएका पण्डितका नेपाली साहित्यका विभिन्न विधाका करिब आधा दर्जन कृति प्रकाशोन्मुख अवस्थामा रहेकाले कवि पण्डित अहिलेको समयका निकै सक्रिय स्रष्टा रहेको धारणा राख्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९० औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सामाजिक रूपान्तरण अभियानमा सक्रियता देखाइरहेका रामकुमार पण्डित क्षेत्रीलाई प्रस्तुत गरिएको हो ।

यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

कविनायक रामकुमार पण्डित क्षेत्रीले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र निरन्तर साधना एवम् आफ्नो क्षेत्रबाट सामाजिक रूपान्तरण अभियानमा केही न केही योगदान गर्नुपर्छ भनेर उपत्यकामा लामो समयदेखि क्रियाशील भइरहँदा, सकेजतिको सक्रियता देखाइरहँदा कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूणर् ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । मेरा कविताका विषयवस्तु यही समाजबाट टिपिएका छन् । यो मुलुकको भविष्य निर्माण हामीले नै गर्नुपर्छ भन्ने चेतनाले घच्घच्याएपछि, सामाजिक विभेद र शोेषण देखेपछि, समाज परिवर्तनमा सघाउनै नसक्ने भए सत्ताप्राप्तिको अपेक्षा केका लागि ? गरिबको पीडामा मलम लगाउननसक्ने भए सरकार केका लागि ? भन्नेजस्ता अहम् प्रश्न तेर्सिएपछि, श्रमको सम्मान गर्नुपर्ने भावना समाजमा फैलाउनुपर्छ, हेपाइका विरुद्धमा उभिनुपर्छ भन्ने शाश्वतताले निर्देश गरेपछि मलाई कवितासिर्जनाको हुटहुटी बढेको हो ।