चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो, राजस्व संकलन पनि वृद्धि

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटक आगमन बढेको छ। अघिल्लो आर्थिक वर्षभन्दा ७ हजार ४ सय २५ बढी विदेशी पर्यटक निकुञ्ज भित्रिएका हुन्। आर्थिक वर्ष २०८०/८१ मा ३ लाख ६ हजार ८ सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो संख्या २ लाख ९९ हजार ४ सय १२ रहेको निकुञ्जका सूचना अधिकारीले बताए।
गत आर्थिक वर्ष १ लाख ७६ हजार ३ सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। आव २०७९/८० मा २ लाख ५ हजार ६ सय ५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए। गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४ सय ७१ तथा आव २०७९/८० मा ३७ हजार ९ सय ३५ पर्यटक भित्रिएका थिए।
अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/८० मा ५५ हजार ८ सय ७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए। आव २०७८/७९ मा १ लाख ९० हजार ४ सय ५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए।
गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको आगमन बढेको पाइएको छ। निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ। गत आवमा पर्यापर्यटनबाट ३० करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रुपैयाँ थियो। आव २०७८/७९ मा १ लाख ९० हजार ४ सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए। यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४ सय १३ रुपैयाँ राजस्व संकलन भएको थियो।
यसैगरी आव २०७७/७८ मा ९८ हजार ९ सय २८ पर्यटक भित्रिँदा ३ करोड ५० लाख ८३ हजार ३ सय ७६ रुपैयाँ राजस्व संकलन भएको थियो। आव २०७६/७७ मा १९ करोड ९२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो। उक्त आवमा ८ सय ३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ। सो आवमा १ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।आव २०३२/३३ मा २ हजार २ सय ६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा २ लाख १ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको संख्या बढेको बताइन। भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरिन्।