नेत्र गुरुङको निर्देशनमा चलचित्र ‘कडी’को पोखरामा शुभमुहूर्त

काठमाडौँ । दश वर्ष अघि ‘नाइके’निर्देशन गरेका नेत्र गुरुङको निर्देशन रहने चलचित्र ‘कडी’को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको चलचित्रको सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुहूर्त गरिएको हो ।

कार्यक्रममा संकृतीकर्मी तीर्थ श्रेष्ठले माइती घर चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै आज कडीको शुभमुहूर्त गर्न पाउँदा खुसी लागेको बताए ।

पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा धेरै चलचित्रहरु सुटिङ गरेको जानकारी गराए । हरेराम हरेकृष्ण जस्ता चलचित्रहरु पोखरामा नै छायाँकन गरिएको भनाई उनको छ । श्रेष्ठले नेपाली चलचित्र विश्वमाझ पुर्‍याइ आफूलाई स्थापित गर्न नसकेको प्रति दुःख व्यक्त गरे । यस्तोमा नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफूलाई अगाडि बढाउन र नेपाली चलचित्रको उन्नयनमा ‘कडी’महत्त्वपूर्ण साबित हुनेमा विश्वस्त रहेको उनको भनाई थियो ।

कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे । उनले पोखराबाट बन्ने चलचित्रको शुभमुहूर्तमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

चलचित्र निर्देशक घनश्याम लामिछानेले ‘कडी’ नेपाली चलचित्र क्षेत्रका लागि नौलो बन्नेमा आफू विश्वस्त रहेको बताए । दश वर्ष अगाडि बनाएको नाइके पछिको ग्यापलाई चिर्ने गरी कडी अगाडि बढोस् भन्दै उनले शुभकामना दिए ।

नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफूले कल्पना समेत नगरेको भनाई उनको छ ।

पोखरा आसपास छायाँकन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभमुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात ‘कडी’ छायाँकनमा जानेछ ।

Comments are closed.