इजरायलमा मारिएकामध्ये ४ विद्यार्थीको शव ल्याइँदै, आइतबार काठमाडौँ आइपुग्ने

काठमाडौँ : दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव ल्याउन लागिएको छ।

सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसो १ः२५ बजे फ्लाई दुबईको उडानबाट नेपाल पठाइने त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

इजरायलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड १२१० मार्फत दुबईसम्म ल्याइने र तत्पश्चात् फ्लाई दुबईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौँ पठाउने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ।

दूतावासले आज विज्ञप्ति जारी गरी कार्तिक ५ गते आइतवार बिहान शव काठमाडौँ आइपुग्ने जानकारी गराएको छ। अन्य शव पहिचानको काम भइरहेको पनि दूतावासले जानकारी दिएको छ।

दूतावासले उपलव्ध सम्पूर्ण संयन्त्र/माध्यमको प्रयोग गरी सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्यमा आफ्नो प्रयास केन्द्रित गरिरहेको जनाएको छ।