चिनियाँ राजदूत छन्‌ले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङबाट ओहोदा प्रमाणपत्र ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत छन्‌ले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राजदूतले राष्ट्र प्रमुखलाई ओहोदो प्रमाणपत्र बुझाएपछि औपचारिकरुपमा जिम्मेवारी सुरु हुन्छ । चिनियाँ राजदूत छन् जिम्मेवारी सम्हाल्न गत आइतबार नेपाल आएका थिए । उनले नेपाल चीनबीच रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने बताएका थिए ।

छन् यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत थिए । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रुपमा छन् आएका हुन् । नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञसमेत हुन् ।

Comments are closed.