जयशंकर आउँदा भएका सम्झौता सार्वजनिक गर्न एकीकृत समाजवादीको माग

काठमाडौँ : सत्तारुढ गठबन्धनको घटक दल नेकपा एकीकृत समाजवादीले भारतसँग भएका पछिल्ला सम्झौताप्रति असन्तुष्टि जनाउँदै सरकारसँग सबै सम्झौताका दस्तावेज सार्वजनिक गर्न माग गरेको छ।

सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भएका नेपाल—भारत सम्झौताहरु सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक स्रोत, साधन, ऊर्जा, जलश्रोतलगायत सम्झौताहरु माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताए। उनले भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरु संवेदनशील रहेको बताए।

‘नेपाल र भारतबीच भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा दुई देशबीच भएका केही सम्झौतालाई सार्वजनिक गर्न हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रस्ताव गरेको थियो‚’ उनले भने‚ ‘पार्टीले यसबारेमा विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन, ऊर्जा, जलश्रोतबारे गरिएका सदुपयोग गरिने शर्तहरु के के छन्, ती सबै डकुमेण्ट सरकारसँग माग गर्ने र पार्टीमा अध्ययन गर्ने निर्णय गरेका छौँ।’

बैठकले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुको कामको प्रगति विवरण पार्टीमा बुझाउन पनि निर्देशन दिएको छ। पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउन पार्टी पंक्तिलाई आग्रह गरेको छ।

उनले भने, ‘आजको बैठकले केही दिनअघि राष्ट्रियसभा निर्वाचनका लागि चयन गरेका उम्मेदवारलाई गठबन्धनका तर्फबाट विजयी गराउन पार्टीका सबै कमिटीहरु, स्थानीय तहका मतदाता, प्रतिनिधि, पार्टी कमिटी सबैलाई एकजुट भइ लाग्न र उम्मेदवार जिताउन पार्टीले पुनः आह्वान गरेको छ।’

पार्टीले माघ ८ गते दिनको ११ बजे पार्टीको महाधिवेशनको सन्दर्भमा तयार गरिने र गरिएको मस्यौदा राजनीतिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्न समितिको बैठक बोलाएको छ।