रोल्पा-सल्यान सडकखण्डको ठेक्का लाग्यो, निर्माण लागत ३ अर्ब ६८ करोड रुपैयाँ

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गतको रोल्पा-सल्यान सडकखण्ड विस्तार गर्न ठेक्का लागेको छ। मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलेको सूचना अनुसार उक्त सडक विस्तार गर्न कुमार श्रेष्ठ निर्माण सेवाले ठेक्का पाएको छ।उक्त कम्पनीले ३ अर्ब ६८ करोड २३ लाख ८८ हजार रुपैयाँमा निर्माण गर्ने गरि ठेक्का पाएको हो। सो सडक ५२.१७ किलोमिटर लम्बाईको छ।
गत वैशाख ३१ गते टेन्डर आह्वान गरिएकामा तीनवटा निर्माण कम्पनी प्रविधिक रुपमा पास भएका थिए। सडक बनाउन कालिका कन्स्ट्रक्सन, कुमार श्रेष्ठ निर्माण सेवा र आशिष निर्माण सेवाले आवेदन दिएकामा ३ वटै कम्पनी प्राविधिकरुपमा छनोट भएका थिए।
जुन कम्पनीले कम रकम कबोल गरेको छ त्यही कम्पनीले ठेक्का पाउने व्यवस्था भएकाले कुमार श्रेष्ठले अन्यको भन्दा कम कबोल गरेका कारण ठेक्का पाएको हो। सरकारले सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधनमार्फत ५ अर्बसम्मको ठेक्कामा नेपाली कम्पनीले एक्लै भाग लिन पाउने व्यवस्था गरेको छ। त्यही अनुसार अहिले ५ अर्बसम्मका ठेक्कामा नेपाली कम्पनीहरुले ठेक्का पाउने गरेका छन्।आयोजनाका इन्जिनियर बद्री प्रसाद शर्माका अनुसार आगामी भदौ अन्तिमसम्म निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी रहेको छ।‘हामीले भदौ अन्तिमसम्म निर्माण कम्पनीसँग सम्झौता गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘दशैंपछि निर्माणको काम फूल फेजमा संचालन गर्ने योजना छ।’
शर्माका अनुसार निर्माण कम्पनीले यो सडक निर्माण तथा कालोपत्रे गर्ने काम सम्झौता भएको अवधिले ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। अहिले भइरहेको सडकलाई बाटो चौडा गर्ने काम यो कम्पनीले गर्ने हो। यस्तै कल्भर्टहरु लगायत अन्य सम्पूर्ण कार्य कम्पनीले गर्नु पर्नेछ। साथै सडक ७ मिटर चौडाईसम्म कालोपत्रे हुनेछ।