देश बाममय बन्दै गइरहेको थियो’ ओली भष्मासुर भएर निस्किए: झलनाथ खनाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।
उनले भने, ‘देश बाममय बन्दै गइरहेको थियो। तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्‍यायौँ, उनी निस्किए भष्मासुर। यो भष्मासुरको कारणले उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रुपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाई बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो।’

सम्मानित नेता खनालले ओलीले संसद्‍ विघटन गरेकापछि मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए।

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।

उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरुले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए।