कांग्रेस एमाले मिल्दा मात्रै देशको समस्या समाधान भएको छ : प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा चिर्न दुई ठुला दलबिच सरकार सञ्चालनको सहकार्य भएको बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले संघीयता तथा प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गर्नुभयो । ‘देशको विषम् परिस्थितिलाई आत्मसात् गरी नेपाली कांग्रेस र एमाले बिच समीकरण भएको हो, यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन’, ओलीले भन्नुभयो ।

देशमा राणा शासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र संघर्षको व्यवस्थापन कांग्रेस एमाले मिलेरै गरेका उहाँले बताउनुभयो । गणतन्त्र र संघीयताका लागि पनि कांग्रेस एमाले एक ठाउँमा आएको उहाँले स्पष्ट पार्नुभयो । ‘यी दुई ठूला दल मिलेरै देशको सङ्कट समाधान भएको छ’, उहाँले भन्नुभयो ।
देशको विषम परिस्थितिको सामनाको लागि अहिले विशेष सङ्कल्पसहित दुई दल एक ठाउँमा उभिएको उहाँले स्पष्ट पार्नुभयो । विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गरी जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएको उहाँले बताउनुभयो ।
ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त दुरुस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेशमा रहेका विद्यमान विकृति, विसंगति र अन्योलको अवस्था चिर्नका लागि एकजुट भई कार्य गर्न उहाँले आग्रह गर्नुभयो ।