काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश सचिव नवराज सिलवालले गठबन्धन सरकारले देशमा सुशासन दिन नसकेको बताउनुभएको छ ।
नेकपा एमाले रामेछापले शुक्रबार मन्थलीमा आयोजना गरेको प्रदेश कमिटीका निर्वाचित पदाधिकारी तथा रामेछापबाट निर्वाचित प्रदेश सदस्यको बधाई कार्यक्रममा बोल्दै सिलवालले अहिलेको सरकार निकम्मा र नालायक भएको बताउनुभयो । ‘अहिलेको सरकार इतिहासकै नालायक सरकार हो’, उहाँले भन्नुभयो ।
अहिले मुलुकमा अस्थिरता बढेको बताउँदै सिलवालले यसलाई चिरेर अघि नबढ्ने हो भने मुलुकको अस्तित्व नै संकटमा पर्ने बताउनुभयो । सबै अस्थिरतालाई चिरेर समृद्ध नेपाल निर्माण गर्ने अभियानको नेतृत्व नेकपा एमालेले लिने उहाँले प्रष्ट पार्नुभयो । यसका लागि मैले के पाएँ भन्दा पनि पाटीको नेता र कार्यकर्ताको रूपमा समाजलाई के दिएँ भन्ने हिसाबले लाग्नु पर्नेमा सिलवालले जोड दिनुभयो ।
एमाले कार्यकर्ताले कति जना बिरामीको उपचारमा सहयोग गर्यो ? कतिलाई स्वास्थ्य संस्थामा पुर्याउन सघायो ? कति पीडितको पक्षमा बोल्यो र काम गर्यो भन्ने मापदण्डको आधारमा पार्टीले कामको मूल्याङ्कन गर्नु पर्ने र वाग्मती प्रदेश पार्टीले अब त्यसरी मूल्याङ्कनको आधार तयार गर्ने उहाँले बताउनुभयो । ‘नेता हुनुको प्रमाणीकरण आफैँले गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीले अब फरक ढङ्गले काम गर्ने उहाँले बताउनुभयो । पार्टीका नेता कार्यकर्तालाई गौरवान्वित बनाउने ढङ्गले प्रदेश कमिटीले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘तर तपाईँहरूले हामीलाई साथ दिनु पर्यो’, सिलवालले भन्नुभयो ।