इतिहासकार चित्तरञ्जन नेपालीको निधन

काठमाडौँ । नेपालका पहिलो पुस्ताका इतिहासकार चित्तरञ्जन नेपालीको सोमबार निधन भएको छ । भीमसेन थापा र रणबहादुर शाहबारे उनले लेखेका दुई कृति असाध्यै लोकप्रिय र चर्चित छन् ।

उनले नै पहिलो पटक नेपाली इतिहासका यी दुई प्रमुख पात्रबारे लेखेका थिए र त्यसपछि मात्र उनीहरूबारे थप अध्ययन सुरु भएको मानिन्छ ।

नेपाल भाषा एकेडेमीका पूर्व चान्सलर पनि रहेका नेपालीको ९४ वर्षको उमेरमा निधन भएको हो । उनको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको थियो । उनको वास्तविक नाम भने नारायणप्रसाद राजभण्डारी हो । साहित्यकार पनि रहेका नेपालीले लेखनमा आफ्नो वास्तविक नाम भने प्रयोग गरेनन् ।

नेपाली २०१३ मा पहिलो पटक मदन पुरस्कार विजेता पनि हुन् । उनलाई ०१५ सालको श्रेष्ठ सिरपाः पनि प्रदान गरिएको थियो ।