कोशीबाट सुरु भएको भूकम्पले कांग्रेस–माओवादीको गठबन्धन ढाल्छ : कैलाश ढुङ्गेल

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले देशको राजनीतिमा नयाँ समीकरण सुरु भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछापले वाग्मती प्रदेश कमिटीका पदाधिकारी तथा रामेछापबाट निर्वाचित नेताहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै ढुङ्गेलले त्यसको सुरुवात कोशी प्रदेशबाट भएको बताउनुभयो । कोशी प्रदेशबाट गठबन्धन भत्किन सुरु भएको उहाँले दाबी गर्नुभयो । ‘कोशीबाट सुरु भएको भूकम्पले कांग्रेस–माओवादीको गठबन्धन ढाल्छ’, उहाँले भन्नुभयो ।

कोशी प्रदेशमा कांग्रेसका सांसदहरूले विद्रोह गरी एमालेसँग मिलेर सरकार बनाएको बताउँदै ढुङ्गेलले अब माओवादी र कांग्रेसको गठबन्धन अन्य प्रदेशमा पनि ढल्दै जाने उहाँले दाबी गर्नुभयो । दशैँ र तिहारको बिचमा राजनीतिक समीकरणमा धेरै परिवर्तन आउने उहाँले बताउनुभयो ।

ढुङ्गेलले वाग्मती प्रदेश पार्टीको खालाँसी भएर आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै नेता कार्यकर्तालाई कुनै विभेद नगरी उचित ठाउँमा राखेर काम दिने उहाँले बताउनुभयो । ‘नेकपा एमालेको डुङ्गालाई डुब्न दिने छैनौँ, जिम्मेवारी दिने कुरामा तलमाथि गर्दैनौँ’, उहाँले भन्नुभयो ।

राजनीतिक काम सिर्जना गर्ने भएकोले सबै नेता कार्यकर्तालाई सिर्जनात्मक काममा लाग्न उहाँले आग्रह गर्नुभयो । कसैले काम दिन्छ र गरौँला भनेर नबस्न उहाँले आग्रह गर्नुभयो । ढुङ्गेलले खोजेर काम लिन नेताहरूलाई सुझाव दिनुभयो ।

वाग्मती प्रदेशमा निर्वाचित भएका नेताहरूको सिपलाई प्रयोग गरेर प्रदेश पार्टीलाई एक नं पार्टी बताएरै छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । यत्तिको क्षमता र योग्यता भएका नेताहरू भएको वाग्मती प्रदेशमा पार्टीले चुनाव हार्नै नमिल्ने उहाँले बताउनुभयो ।