आज हुने भनिएको पत्रकार महासंघको निर्वाचन अनिश्चित कालको लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघ आज हुने भनिएको केन्द्रिय समितिको निर्वाचन अनिश्चित कालको लागि स्थगित भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरेर निर्वाचनको कार्यक्रम रोकिएको जानकारी दिएको छ । केन्द्री समितिको निर्वाचन रोकिएसँग आजै हुने भनिएका सातवटै प्रदेश, जिल्ला र प्रतिष्ठानका निर्वाचन पनि रोकिएका छन् ।

निर्वाचन समितिले असार ७ गते असार २२ गते निर्वाचन गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरेको थियो । तर मनोनयन दर्ता गर्ने दिन असहज परिस्थिति उत्पन्न भएको भन्दै मनोनयन दर्ताको कार्यक्रम स्थगित गरेको भए पनि अजको निर्वाचन गर्ने प्रतिबद्धता जनाएको थियो । तर शुक्रबार सूचना जारी गरी निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेकोले निर्वाचन स्थगित गरेको जानकारी दिइएको छ ।

नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने गरी निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

आजका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चित कालीन स्थगित भएसँगै चैत्र अन्तिम साताबाट जारी अभियानमा पूर्णविराम लागेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रतिक्रिया दिनुभएको छ । करिब तीन महिना पत्रकार महासंघको चुनाव गर्न खर्च गरिएको मेहनत शून्यमा पुगेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ । ‘प्रिय मित्रहरू अब चुनाव कहिले हुन्छ भनेर मलाइ चाहिँ नसोध्नु होला’, उहाँको प्रतिक्रिया छ ।