फिल्म ‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडौं, मङ्सिर २९ । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो ।

“डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरु गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दछौँ”, प्रस्तुतकर्ता थापाले भन्नुभयो । फिल्ममा मुहूर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिनुभयो । उहाँ दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा हुनुहुन्छ ।

एस.जी. फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै हुनुहुन्छ । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ ।

यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेख्नुभएको हो । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रित रहने बताउनुभयो । “दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ”, लेखक पौडेलले भन्नुभयो ।

रासस

Comments are closed.