नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशन सम्पन्न,

 पपुलिस्ट शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न महामंत्री थापाको आग्रह
काठमाडौँ – नेपाली कांग्रेसका महामंत्री गगन थापाले पपुलिस्ट शक्तिहरुले सिर्जना गरेको भ्रम तोड्न प्रेसको ठूलो महत्व रहेको बताएका छन् ।
कांग्रेस निकट पत्रकारहरुको संस्था, नेपाल प्रेस युनियन युरोप शाखाको जुम मार्फत आयोजित प्रथम अधिवेशनलाई आइतबार सम्बोधन गर्दै महामंत्री थापाले पपुलिज्मको राजनीतिले राज्यका संस्थाहरुलाई कमजोर बनाउने बताए । उनले नेपाल प्रेस युनियनलाई स्पष्ट विमर्श चलाउन र ‘प्रो-एक्टिभ’ भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।
नेपालमा कांग्रेस तथा एमाले मिलेर नयाँ सरकार गठन गरेको तर्फ इंगित गर्दै महामंत्री थापाले भने, ” डेलिभरी गर्नु पर्ने छ, नागरिकको निराशा चिर्नु पर्ने छ। संगसंगै एउटा पनि प्रश्न गर्न नपर्ने स्थिति बनाउनु पर्ने छ। अगाडीको बाटो जोखिमपूर्ण छ, कसरी सुरक्षित अवतरण गर्छौं, त्यसमा हाम्रो सफलता निर्भर हुन्छ।“
बेलायतमा हालै लेबर पार्टीले लोकप्रिय मत पाए पछि सरकार पनि बनाएको प्रसङ्ग उल्लेख गर्दै महामन्त्री तथा कांग्रेस सांसद थापाले २०८४ सालमा एकल बहुमत पाउने गरी कांग्रेसको पार्टी संगठनलाई मजबुत बनाउनु पर्ने बताए। ” (गत चुनावमा) नेपालमा रहेका मतदाता नेपाल बाहिर रहेका मतदाताबाट बढी प्रभावित भएको पाईयो। त्यसैले नेपाल बाहिर रहेका मतदातालाई सत्य तथ्य बुझाउन प्रेसको भूमिका महत्वपूर्ण हुन गएको छ,” उनले भने। उनले अधिवेशनबाट निर्वाचित टिमलाई बधाई दिंदै अधिवेशनको पूर्ण सफलताको कामना पनि गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिस्चित गर्न नेपाल प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको बताए। उनले एउटा दल विशेषले आम जनसमुदायलाई ‘मिसइन्फर्म’ र ‘डिसइन्फर्म’ गरिरहेको बताउंदै मिडियालाई त्यस तर्फ सुसूचित गर्न आग्रह गरे ।
गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले एनआरएनहरुलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएता पनि उक्त नागरिकताबाट केहि पनि काम गर्न नमिल्ने अवस्था रहेको बताए। उनले गएको ९ महिनासम्म केही पनि काम नभएको बताउंदै संविधानले व्यवस्था गरेको कुनै पनि अधिकारलाई संकुचित नगरी यो नागरिकतालाई प्रयोग गर्न पाइने व्यवस्था मिलाउन माग गरे ।
जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले प्रेसले निरन्तर रुपमा खबरदारी गरिरहनु पर्ने बताए। जनतालाई जागरुक गर्ने काममा प्रवासमा निर्माण भएको संस्थासंग फाउन्डेसनले सहकार्य गर्ने पनि उनले बताए । “हिजो पनि संगै काम ग-यौं, लोकतान्त्रिक पद्धतिलाई सुदृढ गर्न भोलि पनि संगै काम गर्ने छौं,” नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका पण्डितले भने।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, एनआरएन बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली जनसम्पर्क समिति युकेका सभापति महेश दाहाल, नेपाली जनसम्पर्क समिति द नेदरल्यांड्सका सभापति सालिक गौतम, रोयल बरो अफ ग्रिनिचका मेयर काउन्सिलर जीत रानाभाट, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, नेपाल प्रेस युनियन युकेका अध्यक्ष बिपिन निरौला लगायतले शुभकामना दिएका थिए।
निर्वाचन समितिका संयोजक राज कुमार त्रिपाठीले नेपाल प्रेस युनियन युरोपको अध्यक्षमा संजय कंडेल लगायत सम्पूर्ण टिम निर्विरोध निर्वाचित भएको घोषणा गरे। कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष सबिना श्रेष्ठले सबैलाई स्वागत गरेकी थिइन् ।