नाजुक अर्थतन्त्र सुधार भयाे भनेर सरकारले जनतालाई ढाँटिरहेको छ: केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताउनुभयाे ।

कोभिडपछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन् ओरालो लाग्नु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले देशकाे अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि देखिदा पनि व्यवसायीहरुको समस्या समाधानमा सरकारले कुनै चासो नदिएको बताउनुभयाे ।

देशकाे अर्थ व्यवस्थालाई ओरालोतर्फ ढकेल्ने गरी बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफूलाई आश्चर्य लागेको पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले व्यवसायीहरुको समस्याबारे आफूले राष्ट्र बैंक लगायत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मुलुकमा धेरै समस्या आउँदा पनि सरकार विभिन्न प्रकरण चलाउँदै कमिशनको चक्करमा लागेको बताउनुभयो । अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजी गर्नुपर्ने बताउनुभयाे ।