सरकार नै सुन तस्करीमा संलग्न छ, त्यसैले छानबिन गर्न चाहेको छैन: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डमा सरकार नै सुन तस्करीमा संलग्न भएकाे बताउनुभएकाे छ ।

एमाले वाग्मती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समाराेहलाई सोमबार काठमाडौंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले सुन तस्करी काण्डमा सत्तापक्षका नेताकाे संलग्नता भएकाले आयाेग बनाएर छानबिन गर्न सरकारले नमानेकाे बताउनुभयाे ।

सुन तस्करी काण्डकाे व्यापक छानबिन गर्नुपर्छ भनेर एमालेले निरन्तर दबाब दिँदा मात्रै सरकार छानबिन गर्न तयार भएकाे तर अहिले आएर पूर्व सहमति अनुसार उच्चस्तरीय जाँचबुझ आयाेग बनाउन नमानेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘१ महिनापछि बल्ल आयाेग बनाउन मान्याे, त्यसकाे १ महिनापछि मात्रै आयाेग बनाउने र काम सुरु गर्ने भन्याे, सरकार बिलम्ब गर्न, ढिलाेढालाे गर्न किन चाहान्छ भने – एयरपाेर्टमै पक्रिनुपर्ने सुन पक्रिएन, त्यहाँबाट पिछा गरेर गाेदाममा गएर समात्नुपर्थ्याे, बीचैमा समात्याे गाेदाम देखिन्छ भनेर, ट्रयाक्सी, ड्राइभर, सुन लिन गएकाहरु, मेराे सुन भनेर दाबी गरेर बुझेर ल्याउने मान्छे बाटाेमा पक्राउ  पर्छन् उनीहरुलाई राजश्व विभागमा पुर्‍याएर, सय किलाे सुन तस्करी गर्ने तस्करलाई चाहिएकाे बेला हाजिर हुन्छु भन्ने कागज गराएर छाेडिन्छ र सामान सबै लुकाइन्छ, मान्छे भगाइन्छ  ।’

३ दिनपछि खाेज्न जाँदा १ सय ६५ वटा रित्ता बाक्सा भेटिएका र सबै सामान लुकाइएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘किनभने सरकारले पहिल्यै नै लुकाउन लगाइराखेकाे छ, यसैकारण उसलाई समय १ महिना चाहिएकाे छ, अब छानबिन गर्न हुँदैन भनिराखेकाे छ सरकार, भविष्यमा कस्ताे कानुन ल्याउने भन्ने सिफारिस गराेस् आयाेगले छानबिन गर्न पाइँदैन भन्छ ।’

सुरुमा सय किलाे भनिएकाे सुन पछि ६१ किलाे भएकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे – ‘३९ किलाे सुन कहाँ गयाे ?’ विद्युतीय चुराेट (भेप) मा ल्याइएकाे साढे ९ किलाे सुनकाे कारबाही के भयाे भन्दै अध्यक्ष ओलीले सरकारलाई प्रश्न गर्नुभयाे । २ सय ९४ पटक गरिएकाे टेलिफाेन वार्ता र कुँदेर पटक पटक एयरपाेर्ट गएका साँढगाँढ कहाँ गए भन्ने प्रश्न पनि उहाँले सरकारलाई प्रश्न गर्नुभयाे ।

सरकारले नागरिकता दिएर पहिलेदेखि नै तस्कर तयार पारेर राखेकाे समेत अध्यक्ष ‌ओलीले बताउनुभयाे । सुन तस्करी काण्डमा भरिया समातेर सरकार उम्कन नपाउने भन्दै उहाँले मुख्य नाइके काे हाे त्यसलाई पक्राउ गर्न माग गराउनुभयाे । उहाँले भन्नुभयाे – ‘६ वर्षअघि (०७४) देखि नागरिकता दिइदिइकन तस्कर त तयार गरिएकाे रहेछ नि, ती मान्छे काे हुन् ? भरिया समातेर हुँदैन, यत्राे काराेबारी गर्ने व्यापारी काे हाे ? त्याे व्यापारी समाउनुपर्दैन, अरबाैंकाे लगानी गर्ने काे हाे ? कालाबजारीबाट पैसा पठाएर कसले सुन किनेर तस्करी गरेर ल्यायाे त ?’

अध्यक्ष ओलीले सुन काण्डमा सरकारले आलटाल गरे ढिलै भएपनि एमालेले छानबिन गरेर छोड्ने चेतावनी पनि दिनुभयाे ।

हरेक भ्रष्टाचार काण्डकाे छानबिन गरेर दाेषीलाई कारबाही गर्न पनि उहाँले सरकारलाई चुनाैती दिनुभयाे । अध्यक्ष ‌ओलीले भन्नुभयाे – ‘एमालेतर्फ औंला ठडाउने हाेइन, अस्ती गिरिबन्धु टी-स्टेटकाे फाइल खाेल्छु भन्नुभयाे प्रधानमन्त्रीजीले, मैले भनेँ फाइल खाेल्नुस् गठबन्धनका काेकाे जेल जानछ जानुस्, कुनै फाइल खाेलेपनि केही गरेपनि एमालेलाई त्याे फाइलसँग कुनै त्रास हाेइन, एमाले फाइल खाेल कारबाही गर भन्छ सरकारलाई, सय किलाे सुन ६१ कसरी भयाे ?’

सरकारसँग राष्ट्र बैंकमा एउटा मात्रै सुन पगाल्ने मेसिन रहेकाे भन्दै अध्यक्ष ओलीले तस्करसँग कसरी ५ वटा भए भन्ने प्रश्न गर्नुभयाे ।

छानबिन गर्ने आयाेग मात्रै चाहिएकाे भन्दै उहाँले सुन तस्करी काण्डकाे छानबिनमा सरकारले आलटाल गरे ढिलै भएपनि एमालेले छानबिन गरेरै छोड्ने चेतावनी दिनुभयाे । सय किलाे मात्र नभएर धेरै किलाे सुनकाे तस्करी भएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘याे सुन काण्डकाे शिलशिला एक सय किलाे मात्र हाेइन, धेरै सय किलाे सुन अहिलेकाे सरकारले वा सरकारकाे समयमा कसले हाे सरकारले जानाेस्, धेरै किलाे सुनकाे तस्करी भएकाे छ, अरु चिजकाे तस्करी भएकाे छ, देशद्राेही काम कुनै ख्याठट्टा हाेइन, याे शताब्दीभरी या कुनै पनि समयमा छानबिन गराएर छाड्छाैं ।’

ललिता निवास काण्डमा वैधानिक रुपमा जग्गा किनेकाहरुलाई मुद्दा लगाएर फसाउने र सत्तापक्षका नेतालाई उम्क्याउने काम सरकारले गरेकाे उहाँले बताउनुभयाे । ‘जग्गाधनी पूर्जा हेरेर माल भूमि सुधारमा गएर पास गरेकाे छ, उनीहरुलाई गिरफ्तार गर्ने र मुद्दा चलाउने, सरकारी जमिन मेराे हाे भनेर दाबी गर्ने, आफ्नाे नाममा ल्याउने, त्याे काममा मतियार हुनेहरुकाे बारेमा खाेइ मुद्दा ? सरकारी सम्पत्ति हाे भनेर दाबी गर्नेका विरुद्ध खाेइ मुद्दा ? सरकारी जमिन जानीजानीकन अर्काकाे नाममा उसकै नाममा कायम गराइदिने नेता कर्मचारी विरुद्ध खाेइ मुद्दा ? जसले जग्गा किन्याे त्यसमाथि मुद्दा लगाएर तमासा गरेर अनि चाेखा क्रान्तिकारी हुने ?’

अर्थतन्त्र डामाडाेल हुँदा पनि सरकार झिनामसिना कुरामा अल्झिएकाे बताउनुभयाे । सरकार देशकाे संस्कृतिलाई ध्वस्त पार्न खाेजेकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । राष्ट्रिय परिचयपत्र बनाउँदा टाेपी फुकाल्ने र सिन्धुर पाेते हटाउनुपर्ने प्रावधान राखेर सरकारले नागरिकलाई दु:ख दिएकाे बताउनुभयाे । यसतर्फ ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

वाग्मतीकाे अधिवेशन एउटा नमुना अधिवेशनको रुपमा स्थापित हुने भन्दै अध्यक्ष ओलीले मिसन ८४ लाई सफल पार्न यो अधिवेशन कोशेढुंगा सावित हुने पनि बताउनुभयाे । राष्ट्रियता, जनजीवन, विकास र राष्ट्रियताको रक्षाका निम्ति एमाले सदैव लडिरहने पनि बताउनुभयाे ।