त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न आएको भारतीय टोली फर्कियो, बस भेटिएनन

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर २९, सिमलतालस्थित त्रिशूली नदीमा हरारहेका दुईवटा बस र यात्रुको लगातार आठ दिन खोजी गरेको भारतीय टोली आज (आइतबार) फिर्ता भएको छ ।
जिल्ला सुरक्षा समितिको आज दिउँसो बसेको बैठकमा समीक्षापछि जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय उद्धार टोलीलाई बिदाइ गरेको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले चुम्बकको प्रयोग गरेर खोजी गरे पनि बस फेला पार्न नसकिएपछि बिदाइ गरिएको बताउनुभयो । उहाँले टोली फर्किए पनि फरक ‌ढंगले खोजीलाई निरन्तरता दिने पनि जनाउनुभयो ।
यसैबीच चितवन प्रशासनले दुर्घटनामा मृत्यु भएका र बेपत्ताहरुको तथ्यांक र अन्य प्रशासनिक काम सकेर आवश्यक कागजातसहित भुक्तानीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने काम सुरु गरेको छ । सरकारले दुर्घटनामा मृत्यु भएका र बेपत्तालाई समेत मृतकसरह मानेर राहत दिने निर्णय गरेकाले सोहीअनुसार कागजात तयार पारेर भुक्तानीका लागि सम्बन्धित प्रशासन कार्यालयमा पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।गत असार २८ गते पहिरोले दुईवटा बसलाई त्रिशूली नदीमा खसालेको थियो । ती दुवै बसमा गरी ६५ यात्रु चढेका थिए । जसमध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए । दुर्घटनामा परेर अहिलेसम्म भेटिएका २४ मध्ये २० शवको सनाखत भएको छ ।