आज प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
नयाँ बानेश्वस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेलले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यको नाम हेरफेर गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ माथि छलफल गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा मन्त्री तामाङले नै अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई पारित गरियाेस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।
राष्ट्रिय सभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने र उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।