जापानमा हराउने संख्या बढ्यो, सन् २०२२ मा ८४ हजार ९१० जना बेपत्ता

टोकियो – सुरक्षाका दृष्टिले उत्कृष्ट राष्ट्रको रूपमा चिनिएको जापानमा हराउने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको छ । यहाँ प्रत्येक वर्ष बेपत्ता हुने नागरिकको सङ्ख्या बढ्दै गएको हो ।

गत वर्ष अर्थात् सन् २०२२ मा ८४ हजार ९१० जना हराएको सरकारी अधिकारीहरूले बताएका छन् । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएअनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले बढी हो । बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।

यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा छ । यो सङ्ख्या एक दशकमा झण्डै दोब्बर भएको छ ।

तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौँतारिएपछि हराएको उल्लेख गरिएको थियो । स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।