सांसदले अध्ययन गर्न समय मागेपछि दुई दिन धकेलियो संसद् बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई दिनका लागि स्थगित गरिएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय माग गरेकाले बैठक स्थगित गर्नु परेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब ती कार्यसूचीमाथि २९ गतेदेखि नियमित छलफल हुने सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीको उपस्थिति थियो ।