भारतबाट डिजेल–पेट्रोलको मूल्य बढेर आएको छ। डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको बताइएको छ। १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले ८५ पुगिसकेको छ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन खरिद गर्छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ। मुल्य बढेर आएसँगै निगमले पनि मुल्य बढाउँने सम्भावना छ।