मानिसको दिमागमा चिप राख्ने काम यसै वर्ष सुरु हुन्छः एलन मस्क

काठमाडौं । एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले यही वर्षको अन्त्यदेखि मानव मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्ने भएको छ ।

फ्रान्सको पेरिसमा भएको भिभाटेक कार्यक्रममा बोल्दै मस्कले न्यूरालिङ्कले टेट्राप्लेजिक वा प्याराप्लेजिकको बिरामीमा चिप प्रत्यारोपणको परीक्षण गर्ने तयारी भइरहेको बताएका हुन् ।

यो परीक्षणको वेबकास्ट रोयटर्सले गर्ने पनि उनले बताए । गत महिनामात्र कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट यस परीक्षणको लागि अनुमति पाएको जानकारी दिएको थियो ।

यसअघि प्रत्यारोपणका क्रममा प्रयोग हुने डिभाइसको जोखिमलाई लिएर कम्पनीले अनुमति पाएको थिएन ।

रोयटर्सले प्रकाशित गरेको एक समाचारका अनुसार एफडीएले न्युरालिंकलाई अनुमति दिएको स्वीकार गरेपनि जोखिमका विषयमा उठेका प्रश्नहरूको जवाफ भने कम्पनीले दिएको छैन ।

मस्कले सन् २०१९ देखि नै यो परीक्षण सुरु गर्ने भनेर चारपटक मिति तय गरेपनि यसको सुरुवात हुनसकेको छैन । यो पटक तय भएको मिति भने फरक नपर्ने अपेक्षा गरिएको छ ।