पत्रकार किशोर श्रेष्ठलाई धम्की दिने युवक ५ दिन हिरासतमा रहने

काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई धम्की दिएको आरोपमा पक्राउ परेका कपिल सीविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल समाजवादीका सचिव कपिल सी छन् ।उनलाई बुधबार पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।उनलाई परिसरको टोलीले बुधबार बिजुलीबजारबाट पक्राउ गरेको थियो । उनीविरुद्ध ५ दिनको म्याद थप भएको छ ।
सीले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका थिए । गालीगलौज गर्दै भौतिक आक्रमणसम्मको धम्की दिएपछि श्रेष्ठले प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जनआस्थामै काम गर्ने एक महिला पत्रकारको चरित्र हत्या गरेको आरोप लगाउँदै फोनमार्फत सीले धम्की दिएका थिए ।