काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकप्रति नै भ्रम फैलाउने काम भएको बताउनुभएको छ ।
सोमबार एमाले पार्टी कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको शपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै देशमा काम छैन, यो देश काम लाग्दैन, अवसर छैन भन्ने जस्ता कुरा गरेको गरेकै गरेर भ्रम फैलाउने काम गरिएको बताउनुभयो ।
उहाँले त्यो भ्रम मात्र भएको बताउँदै त्यसलाई चिर्नुपर्ने बताउनुभयो । ‘हाम्रो जस्तो महान् देश, हाम्रो जस्तो इतिहास भएको देश, गौरवपूर्ण इतिहास भएको देश अन्यत्र छैन, यस्तो भूगोल, यस्तो प्रकृति अन्यत्र छैन, हाम्रो जस्तो गौरवपूर्ण इतिहास अरूसँग छैन,’ ओलीले भन्नुभयो ।
नेपालको जस्तो दिगो विकासको सम्भावना भएका देश अन्त्र नभएका ओलीले बताउनुभयो । तेल हुनेका तेल खानी सिद्धिन्छन्, तर हाम्रो हिमाल सिद्धिँदैन, हाम्रा डाँडाकाँडा सिद्धिँदैनन्, हाम्रा नदी नाला सिद्धिँदैनन्, हाम्रा खोलाहरू सिद्धिँदैनन्, हाम्रा फाँटहरू सिद्धिँदैनन्’, उहाँले भन्नुभयो ।
दुनियाँको वातावरण बिग्रिरहेको कुरासँग नेपाल चिन्तित भएको ओलीले बताउनुभयो । तथापि वातावरण बिग्रिएको असर सबैभन्दा पछि नेपाललाई पर्ने कुरा बुझ्न उहाँले विश्वलाई आग्रह गर्नुभयो । नेपालका हिमालले संसारलाई चिस्याउने काम नेपालका हिमालले गरेको कुरा नबिर्सन उहाँले विश्व समुदायलाई आग्रह गर्नुभयो । नेपालले रिचार्ज सिष्टमको लागि पनि ठुलो योगदान गरेको उहाँले प्रष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा ओलीले नागरिक सर्वोच्चताको कुरा सुन्न नचाहनेका विरुद्ध जनतालाई सजग बनाउने काम एमालेले गर्नुपर्ने बताउनुभयो । एमाले गतिशील पार्टी भएकोले यो काम एमालेले गर्न सक्ने उहाँले दबी गर्नुभयो ।
ओलीले महिलाले असाधारण र दिगो काम गर्न सक्ने बताएकोले राजनीतिमा महिला सहभागिता बढ्न आवश्यक रहेको बताउनुभयो । त्यसैले एमालेले पार्टीका संगठनमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको प्रष्ट पर्नुभयो । कर्णाली प्रदेशले विधानको व्यवस्था उल्लंघन गरेर महिलालाई स्थान नदिएको प्रति ओलीले आलोचना गर्नुभयो । ‘पाँच जना पदाधिकारीमा एक महिला ल्याउन नसक्ने कुरा हुँदैन तर, कर्णालीले मानेन, त्यसमा हामी विचार गर्दै छौँ’, ओलीले भन्नुभयो ।
ओलीले पार्टीको उपत्यका प्रदेशले युवाहरूको विदेश पलायन रोक्नका लागि देशमा उद्यमशीलता र सृजनशीलताका लागि विशेष भूमिका खेल्नु पर्ने बताउनुभयो । ‘उपत्यका प्रदेशको कामको परिणाम युवा बिदेसिने क्रम घट्नुसँग जाँच गरिन्छ’, उहाँले भन्नुभयो ।