मन्त्रिपरिषद् बैठक: बजेटबारे भएन ठोस निर्णय

काठमाडौं— बजेटबारे सत्ता पक्षकै असन्तुष्टिबारे मन्त्रिपरिषद्को अर्को बैठकमा छलफल हुने भएको छ ।

मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसके पछि यही विषयमा मात्रै छलफल गर्ने सहमति भएको कानून मन्त्री धनराज गुरुङले बताए।

उनले भने, ‘यस विषयमा केही गुनासाहरू सत्ता पक्षको पनि रही आएको छ । यस सन्दर्भमा सर्वदलीय विशेष गरेर गठबन्धनका साथीहरूबाट पनि ठुलै गुनासो छ। हामी भित्रै ठुलो गुनासो छ । यसमा मिलाई/जुलाई गरेर फेरी जाउँला तर अर्को कुनै दिन यसै सन्दर्भमा मात्रै बैठक बस्ने गरेर उठेका छौं ।’ यसअघि मंगलबार बसेको गठबन्धनका नेताहरूको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो ।

त्यस्तै मन्त्री गुरुङले एनसेलले अन्तराष्ट्रिय अदालतमा हालेको मुद्दा र त्यसका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय भएको जानकारी दिए । ‘एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय रुपमा एनसेलले नै मुद्दा हालेको थियो । त्यो नेपालले जितेको छ । एक अर्ब मात्रै शुल्क तिर्दा हुने अवस्था रह्यो,’ उनले भने, ‘हाम्रो तर्फबाट अहोरात्र खटेर मुद्दा लडेका सबैलाई धन्यवाद दिएका छौं, आजको निर्णय यही हो । ’