करिब १६ अर्ब ऋण र अनुदान स्वीकृत गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ८ निर्णय

काठमाडौँ : सरकारले साढे १४ अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण र झन्डै २ अर्ब रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यसबारे जानकारी दिए।

एशियाली विकास बैंकका सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने ११० मिलियन अमेरिकी डलर अर्थात् करिब १४ अर्ब ६३ करोड रुपैयाँ ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय सरकारले गरेको हो।
मन्त्रिपरिषद्ले अन्य विभिन्न नियुक्तिलगायतका निर्णय पनि गरेको छ।

यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयः

– एशियाली विकास बैंकका सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् करिब १४ अर्ब ६३ करोड रुपैयाँ ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने।
– खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धकमा रमेश आचार्य (धादिङ)लाई नियुक्त गर्ने।
– नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाश पोखरेल (इलाम)लाई नियुक्त गर्ने।
– भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दी इलेक्सन साउथ एशियाको १२औँ सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भ्रमण स्वीकृत गर्ने।
– भू–उपयोग ऐन २०७६ को दफा १४ को १ खण्ड ञ बमोजिम संघीय भू–उपयोग परिषद्को सदस्यमा रेवतीरमण पौडेल (चितवन), यमुना घले (चितवन), रेश्मा श्रेष्ठ (काठमाडौँ) र जगतबहादुर देउजालाई मनोनयन गर्ने।
– सरकारका नाममा दर्ता रहेको सिरहा नवराजपुर गाउँपालिका-४ को १९ कठ्ठा जग्गा इलाका प्रहरी कार्यालय झाँझपट्टीलाई प्रयोग गर्न स्वीकृत दिने।
– नेपालका नागरिक उड्डयन क्षेत्रका समग्र सुधारका लागि गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गर्ने।

–निजामति सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको दिएको राजीनामा स्वीकृत गर्ने।