नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको तेस्रो पूर्णबैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको तेस्रो पूर्णबैठक सम्पन्न भएको छ ।
प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षता तथा प्रदेश कमिटी इञ्चार्ज एवं पोलिटब्युरो सदस्य सुजिता शाक्यले प्रमुख अतिथ्यतामा बैठक भएको हो । बैठकले अधिवेशन हुन बाँकी रहेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीलाई संगठन कमिटीमा रूपान्तरण गरेको छ । रामजी सापकोटा संयोजक रहेको ३९ सदस्यीय युवा विद्यार्थी जिल्ला संगठन कमिटी गठन गरेको छ ।
अधिवेशन हुन बाँकी रहेका २१ इलाका कमिटी तथा १ सय ४५ शाखा कमिटीहरूको अधिवेशन २०८१ मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने योजना पनि बैठकले पारित गरेको छ ।
यसैगरी आगामी एक वर्षमा नयाँ पार्टी सदस्य ६ हजार थप गर्ने र नवीकरणका लागि सम्पर्कमा आउन नसकेका ४ हजार पार्टी सदस्यहरूको खोजी गरी सदस्यता थप गर्ने कार्ययोजना पनि बैठकले पारित गरेको छ ।
बैठकले प्रदेश कमिटीका विभागहरूमा सदस्यहरूको मनोनयनका साथै ३३ सदस्यीय प्रदेश सल्लाहकार परिषद् गठन गरेको छ । विशेष क्षेत्रमा नेकपा एमालेको प्रभाव बलियो बनाउन आवश्यक प्रशिक्षण, भेला, विषयगत अन्तरक्रिया र संवादहरू आयोजना गर्ने वार्षिक कार्यक्रम र २९ लाख रुपैँयाको अनुमानित बजेट पनि बैठकले पारित गरेको छ ।
बैठकमा मजदुर विशेष जिल्ला कमिटीको इञ्चार्जबाट बिदा हुनुभएका केन्द्रीय कमिटी सदस्य गोविन्द दुलाललाई मायाको चिनो प्रदान गरिएको छ । बैठकमा पुन इञ्चार्ज हुनुभएका पेसागत विशेष जिल्ला कमिटी इञ्चार्ज बिना श्रेष्ठ, उद्योग व्यवसाय विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरी तथा मजदुर विशेष जिल्ला कमिटीका इन्चार्ज सिता लामा र युवा विद्यार्थी जिल्ला कमिटी इन्चार्जको जिम्मेवारीमा आउनुभएका रमेश पौडेललाई स्वागत गरिएको थियो ।